तपाईँ सुन्दै हुनुहुन्छः

ढकालको कवितासङ्ग्रह “अक्षर” बजारमा

काठमाडौँ । नेपाली साहित्यमा उदीयमान प्रतिभाका रूपमा परिचित गद्यकवि लक्ष्मी प्रसाद ढकालद्वारा लिखित कवितासंग्रह “अक्षर” प्रकाशित भएको छ ।

ढकालद्वारा लिखित “अक्षर” नामक कवितासङ्ग्रह पहिलो र सफल कृति हो । कविता सङ्ग्रहमा ६० वटा कविताहरू समावेश गरिएका छन् । कवितासंग्रह सरस्वती पूजाको दिनको अवसरमा भव्यताका साथ विमोचन गरिएको थियो । साथै ढकालले आफ्ना रचनाहरू राष्ट्रिय पत्रिका मार्फतसमेत प्रकाशन गर्दै आउनुभएको छ ।

झापा जिल्लाको कमल गाउँपालिकामा जन्मिनुभएका ढकाल निजी शैक्षिक संस्थामा विगत २८ वर्षदेखि नेपाली विषयको अध्यापन गराउँदै आउनुभएको छ। कवि ढकाल प्रायः नेपाली गद्यकवितामा कलम चलाउनु हुन्छ । उहाँको कवितामा सामाजिक यथार्थ, देशभक्तिको भावना, पूर्वीय आध्यात्मिक दर्शन, र प्रगतिशील क्रान्तिकारी भावसमेत पाइन्छ । 

कवितासंग्रहमा अक्षर, कवि र रवि, बाटो र माटो, रोबोट जस्ता छोराछोरी, बधाई नेताजी, २२ तले धरहरा, स्वर्ग र नर्क,  राष्ट्रभाषामा इम्बोस्ड नम्बर, आत्मदाह, ग्रेटर नेपाल,  शुभकामना, गरिब जनतालाई कोटा, चन्द्रयान ३ जस्ता प्रसिद्ध कवितासहित ६० वटा कविताहरू रहेको छन् ।

‘लिम्पियाधुरामा एउटा घडेरी’ कवि ढकालको बहुचर्चित कविता हो । देशभक्ति भावना र राष्ट्रियताले ओतप्रोत उक्त कवितामा राष्ट्रिय अस्मिताको संरक्षणका निमित्त कवि ढकालले आवाज उठाउनु भएको छ । 

कवि ढकालका अन्य थुप्रै कविताहरूमा सामाजिक यथार्थ, राष्ट्रियता, देश प्रेमको भावना, प्रगतिशील चिन्तन, पूर्वीय आध्यात्मिक दर्शनको प्रभाव रहेको पाइन्छ । राजनीति, सामाजिक विकृति, न्याय, नैतिकता, आशा, निराशा, व्यङ्ग्य, विरोध, मानवीय चेतना, दर्शन, प्रकृति, संस्कृति, समाजमा व्याप्त भ्रष्टाचार, गरिबी, पीडा आदिजस्ता विशेषता भएको अक्षर कवितासंग्रह कवि ढकालको अमर कृति हो ।

अक्षर नामक कविता सङ्ग्रहका रचना अध्ययन गर्न, समालोचना गर्न, समीक्षात्मक लेख र शोधपत्र तयार पार्न सजिलो होस् भनेर मदन पुरस्कार पुस्तकालय पुल्चोक, केन्द्रीय पुस्तकालय त्रि. वि. कीर्तिपुर, नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय  कमलादी, सङ्घीय संसद् सचिवालयको पुस्तकालय सिंहदरबार, वाल्मीकि विद्यापीठको पुस्तकालय प्रदर्शनी मार्ग, भी.एस. निकेतन फाउन्डेसनका पुस्तकालय तीनकुनेमा पाठकका लागि राखिएको कवि ढकालले जानकारी दिनुभयो ।

कवि लक्ष्मी प्रसाद ढकाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button