तपाईँ सुन्दै हुनुहुन्छः

टीआरसी विधेयकमा सहमति जुटाउन आज संसदीय समितिको बैठक बस्दै

काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन आज बिहानै संसदीय समितिको बैठक बोलाइएको छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान पौने आठ बजे बस्दैछ ।

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संसोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

हिजो बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विधेयकबारे छलफल भएको थियो । हिजै विधेयक पास गर्ने गरी बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले समय मागेपछि स्थगित भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो टीआरसीमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुटै छलफल गर्नुभयो ।

यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले नेपालमा विस्तृत शान्ति सम्झौताबाट शुरु भएको शान्ति प्रक्रियाको औपचारिक यात्राले पुर्णता पाउन थालेको बताउनुभएको छ । उहाँले वर्तमान सरकार सरोकारवाला सबै पक्षलाई साथमा लिएर टीआरसीलार्ई तार्किक निष्कर्षमा पुर्‍याउन खटिरहेको बताउनुभएको छ ।

समितिको बैठक बस्नु केही घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै मल्लले राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति निर्माण गर्न गरेको आह्वानलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button