तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : चर्च ब्वाइजको विजयी सुरुआत

झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ ।

नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । पुलिस भने यसअघिका ५ वटै संस्करणमा पहिलो चरणबाटै घर फर्किएको थियो । पुलिस यो पटक पनि पहिलो चरणमै घर फर्किन बाध्य बन्यो ।

आजको खेलमा मध्यान्तरपछि ५३ औँ मिनेटमा चर्च स्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।

खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले स्कोररको कमीका कारण प्रतियोगितामा नतिजा नआएको बताउनुभयो । खेलको प्लेयर अफ द म्याच चर्च स्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

भोलि पहिलो क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपीएफ एफसी र सर्लाहीको बागमती युवा क्लबबिच हुनेछ ।

गोल्डकपमा झापा ११ एफसीसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button