तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वीय दर्शनको शिक्षा पद्धतिलाई पनि जोगाउनुपर्छ : संस्कृतिविद् गुरुङ

पोखरा । संस्कृतिविद् डा.जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्धति जोगाउनुपर्नेमा जोड दिनु भयो ।  

लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव अन्तर्गत दोस्रो दिन बिहीबार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. गुरुङले पश्चिमेली अर्थात् आधुनिक शिक्षा पद्धति अहिलेको आवश्यकता भएकाले बहिष्कार गर्न नसकिए पनि पूर्वीय दर्शन, संस्कृति र प्राचीन आदर्श भने बिर्सन नहुने बताए । उनले प्राचीन आदर्श एवं पूर्वीय दर्शनअनुसारको शिक्षा पद्धतिलाई पनि समावेश गर्न सके विद्यार्थीमा नैतिकताको विकास हुन गई सभ्य समाजको निर्माणमा ठूलो योगदान पुग्ने बताउनु भयो  ।

स्वर्ण जयन्ती अवसरमा बिहीबार नै स्वर्ण महोत्सव प्रवेशद्वार एवं हेल्थ केयर युनिट उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले उद्घाटन गर्दै सरकारी विद्यालयलाई हेर्ने समाजको नजर फरक रहेको बताए । उहाँले विद्यालय शिक्षा सुधार गर्न महानगरले विभिन्न १७ बुँदामा महानगरभित्रका विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको र त्यसको मूल्याङ्कनका लागि २६ जना विज्ञ खटाइएको जानकारी दिँदै त्यसमा खरो उत्रिन नसके नेतृत्वसमेत परिवर्तन गर्ने चेतावनी दिनुभयो । 

कार्यक्रममा विभिन्न समयमा विद्यालयको स्थापनाकाल देखि हाल सम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , विद्यावारिधि गर्ने पूर्व विद्यार्थी एवं सरकारी सेवामा सेवारत व्यक्ति तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो  । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएका कार्यक्रममा  प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले स्वर्ण महोत्सव पछिको शैक्षिक प्रणालीमा आमूल परिवर्तन आउने गरी व्यावहारिक र प्रयोगात्मक शिक्षालाई स्थान दिँदै आएको बताए । कार्यक्रम सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।

२०२५ सालमा स्थापित विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नु भएको थियो भने  विद्यालयमा हाल १ हजार ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वर्ण महोत्सव अवसरमा भएको त्रिदिवसीय कार्यक्रम शुक्रबार पनि चल्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button