तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति श्रद्धाञ्जलि अर्पण (तस्बिरहरु)

काठमाडौँ I वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

उहाँकाे आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा
निधन भएको थियो । उहाँलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

उहाँको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

तस्बिर : मिलन ढुंगाना / रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button