तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ कारागार परिसरमा २९ करोडको लागतमा ६ वटा नयाँ भवन 

विराटनगर । जिल्ला कारागार मोरङको परिसरमा वन्दीगृह तथा प्रशासनिक भवन लगायतका संरचनाको निमार्णको काम अन्तिम चरणमा पुगेको छ । 

विराटनगरस्थित कारागार परिसरमा एकैचोटी  ६ वटा भवन निमार्ण  भइरहेको छ । कारागारका संरचना पुरानो र साँगुरो भएपछि नेपाल सरकारले  २९ करोडको लागतमा सो  नयाँ भवन निमार्ण गर्न लागेको हो ।

कैदीवन्दीहरुका सहज व्यवस्थापनका लागि पुरुष तथा महिला वन्दीगृह कार्यालयको प्रशासनिक भवन, कार्यालय प्रमुखको आवास गृह  तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेक साथै प्रहरीको कार्यालयका भवन निमार्ण भइरहेको छ । तिन वर्ष अघि निमार्ण शुरु गरिएको भवन निमार्ण काम आगामी असार सम्म सम्पन्न हुने जिल्ला कारागार मोरङका कार्यालय प्रमुख कृष्णहरि न्यौपानेले बताउनुभयो । 

विराटनगरको हाटखोलामा रहेको सो कारागारको संरचना साँगुरो भएपछि  कैदीवन्दीहरु लाई कारागारमा राख्न अहिले समस्या हुने गरेको छ  । साढे तिन सय क्षमता रहेको सो कारागारमा अहिले ९ सय  बढी कैदीवन्दी रहेका छन् ।  क्षमता भन्दा बढी कैदीवन्दी हुँदा उनीहरूको व्यवस्थापनमा  समस्या हुँदै आएको छ  । जसका कारण  बेलाबेलामा कैदिवन्दी बिरामी पर्ने गरेका छभने सुत्न बस्न समेत उनीहरूलाई समस्या हुने गरेको छ । 

नयाँ भवन सञ्चालनमा आएपछि  कारागारमा एक हजार कैदीवन्दीलाई राख्न सकिने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको भनाई छ । निमार्ण प्रगति हेर्दा भवन निमार्णको काम  समयमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

कारागारमा कैद भुक्तानी गरिरहेका कैदिवन्दीहरु आफ्नो सिप अनुसार टोपी बुन्ने तथा मुढा र फर्निचर बनाउने पेशामा संलग्न छन् ।

कारागारमा  व्यवसाय सञ्चालनका लागी  प्रशासनले व्यवस्थापन गरेपछि कैदिवन्दीहरुले कारागार भित्र सिपमूलक व्यवसाय सञ्चालन गरेर आर्थिक श्रोत जुटाइरहेका छन् । सिप भएका कैदिहरु व्यवसाय संलग्न  छन् भने सिप नजाने कैदिहरु समेत सिप सिक्न व्यस्त छन् ।

कैदिवन्दीले सामूहिक रूपले व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन् । आफ्नो जहान परिवार छाडेर कैद भुक्तानी गरिरहेका कैदीवन्दीहरुले व्यवसायको आम्दानीले  आफ्नो  परिवार समेत धानिरहेको मोरङ कारागार कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button