तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरको दिगो व्यवस्थापन गर्न निकुञ्ज पीडितहरूको माग

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका जनताले निकुञ्जबाट भोग्नुपरेको समस्या र त्यसको समस्याको विषयमा रेडियो छलफल कार्यक्रम गरिएको छ । 

रेडियो नेपालबाट प्रसारण हुने स्थलगत बहस कार्यक्रममा सहभागीहरूले जङ्गली जनावरको व्यवस्थापन दिगो रुपमा गर्नु पर्ने माग गर्नुभयो । 

छलफलमा निकुञ्ज पीडितका प्रतिनिधि लक्ष्मी खत्रीले वन्यजन्तुको दिगो व्यवस्थापन हुन नसक्दा जनधनको क्षति हुने क्रम नरोकिएको बताउनुभयो । 

कार्यक्रममा निकुञ्ज पीडितका प्रश्नको जवाफ दिनुहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख संरक्षण अधिकृत आशिष न्यौपानेले विगतभन्दा सुधारात्मक तरिकाले संरक्षण र व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले नेपाल सरकारको ऐन, कानुनमा रहेर राहत तथा क्षतिपूर्ति नियम संगत रुपमा उपलब्ध गराइरहेको पनि जानकारी दिनुभयो  । बर्दियाका ८ वटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गरिरहेको बताउनुभयो ।  

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्य हेमन्त आचार्यले जनताका समस्या सम्बन्धित निकायसँग पुर्‍याउने र राहत तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्नका लागि पहल गरिरहेको बताउनुभयो  । उहाँले दिगो व्यवस्थापनका लागि केन्द्रीय सरकार तथा नेतृत्वले जनताको माग सम्बोधन हुने खालका ऐन कानुन बनाई दिनुपर्ने माग गर्नुभएको छ । 

छलफलमा स्थानीय जनता, होटल एसोसिएसनका पदाधिकारी, ठाकुरबाबा नगरपालिका प्रतिनिधि, चोरी शिकारी नियन्त्रण युवा परिचालन समितिका पदाधिकारीहरूले जङ्गली जनावर निकुञ्जभन्दा बाहिर निस्कन नपाउने गरी संरक्षण गर्नुपर्ने, जनधनको क्षति भए छिटोछरितो राहत तथा व्यवस्थापनको प्रबन्ध गर्नुपर्ने, सुकुम्बासी तथा भूमिहीनहरूको राहत नपाउने वा झन्झटिलो भएकोले सहज हुनुपर्ने माग राख्नुभएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको बहस रेडियो नेपालका मुकुन्द भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button