तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई सर्वसम्मतिले पारित गरेको छ । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्रस्ताव प्रस्तुत गर्नुभएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सभाले पारित गरेको हो ।

यसैगरी, बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानुन मन्त्री गुरुङले गम्भीर र जटिल प्रकृतिका आर्थिक अपराधको नियन्त्रणका लागि विधेयकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुभयो ।

विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा प्रस्तुत गरिएको हो । 

यस्तै, बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९÷०८० पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक फागुन ६ गते आइतबार दिउँसो १ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button