तपाईँ सुन्दै हुनुहुन्छः

जलजलाको हिउँसँग रमाउन थाले पर्यटक 

रोल्पा । रोल्पाको धार्मिक तथा प्राकृतिक क्षेत्र जलजला र आसपासका ठाउँहरूमा हिउँ परेपछि जलजलाको हिउँसँग रमाउन यतिखेर पर्यटकहरू त्यहाँ पुग्न थालेका छन् 

खासगरी, रोल्पा तथा आसपासका जिल्लाहरूबाट मानिसहरू जलजला लगायतका ठाउँहरूमा पुगेर हिउँसँग रमाउँदै, घुमघाम गर्न ,फोटो तथा भिडियो खिच्न, मनको शान्ति लिन उत्तरतर्फ दन्ते लहर झैँ देखिने हिमशृङ्खला अवलोकन गर्न पर्यटकहरू जलजला पुग्ने गरेका छन् ।

जलजला समुद्री सतहबाट ३ हजार २ सय ९५ मिटर उचाइमा रहेको छ भने  करिब ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्रको रूपमा चिनिन्छ ।

जलजलाको पुरानो नाम ‘गामा’लेक हो । घाँसे मैदान, दलदले जमिन भएकोले खुट्टाले टेकेपछि टेकेको ठाउँ वरपर जमिन हल्लिने भएकाले दलदलेबाट जलजला भएको हुनसक्ने स्थानीय जानकारहरूले बताउँछन् ।

भामा गुफाबाट १२ भाइ बराह र २२ बहिनी बज्यूको उत्पत्ति भई नेपालको विभिन्न स्थानमा गएर बसोबास गरेको भन्ने धार्मिक कथनअनुसार भामा गुफालाई स्थानीयहरूले बराहको उत्पत्ति स्थल भनेर मान्ने गर्दछन् ।

जलजलामा अवस्थित बराह मन्दिर र भामा गुफा रोल्पाको मात्र नभई अन्य छिमेकी जिल्ला रुकुम, सल्यान, दाङ, प्युठान, बागलुङ, अर्घाखाँची, सुर्खेत बाँके, बर्दिया लगायतका जिल्लावासीहरूको आस्थाको केन्द्र मानिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button