तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरामा विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय समायोजन गरिँदै

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रिक्त हुन थालेपछि विद्यालय समायोजन गर्न लागेको छ । 

विद्यालय समायोजन तथा तह मिलान गर्दा शिक्षक नपुगेका विद्यालयमा व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तरलाई बढाउन सकिने उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उहाँले विद्यालय समायोजनपछि शैक्षिक सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

उपमहानगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गर्न लागेको हो । 

यहाँ भौतिक रुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलान समेत गरिरहेको जनाएको छ । 

यहाँ हालसम्म ६१ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सो मध्ये १६ वटा माध्यमिक र ४५ वटा आधारभूत तहका विद्यालय रहेका छन् ।  

तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा ४५ जना, १–५ मा २५, ६–८ मा ४५, ९–१० मा ४० र ९–१२ मा ८० जना विद्यार्थी हुनुपर्ने मापदण्ड रहेको  उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिश भट्टले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयहरूलाई मापदण्डभन्दा कम विद्यार्थी सङ्ख्या भएमा नजिकको सामुदायिक विद्यालयमा समायोजन तथा कक्षा हुँदा सम्बन्धित विद्यालयहरूलाई आवश्यक कागजातसहित माघ २५ गतेभित्र कार्यालयमा पेश गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ । 

अघिल्लो वर्षमात्रै नगरपालिकाले ७ वटासम्म विद्यालय समायोजन गर्ने लक्ष्य राखे पनि राजनीतिक दबाबका कारण एउटा विद्यालय मात्र समायोजन गर्न सकेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button