तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

मकवानपुर । राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी हुनुभएको छ । 

सत्ता गठबन्धनबाट महिलातर्फ विष्णु कुमारी पुडासैनी, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, दलिततर्फ धनश्याम रिजाल विश्वकर्मा र अन्यतर्फ जीतजंग बस्नेत निर्वाचित हुनुभएको हो । 

प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसङ्ख्यक र अपाङ्गता कोटातर्फ नेकपा माओवादीका अधिकारी महिला कोटातर्फ नेपाली काँग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काँग्रेसका बस्नेत निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।  

अल्पसङ्ख्यक/अपाङ्गता कोटाबाट विजयी अधिकारीले ६ हजार ४३६ मतभार प्राप्त गर्नुभयो, भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेक देवकोटाले २ हजार ७३४ मतभार प्राप्त गर्नुभयो । 

यस्तै, महिला कोटाबाट विजयी पुडासैनीले ६ हजार ६२२ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रोचकुमारी चौलागाईले २ हजार ५५२ मतभार प्राप्त गर्नुभयो । 

यस्तै, दलित कोटामा विजयी विश्वकर्माले ६ हजार ५१२ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गर्नुभयो । 

त्यस्तै, अन्य कोटाबाट विजयी बस्नेतले ६ हजार ५३१ मतभार प्राप्त गर्दा उहाँ प्रतिद्वन्द्वी त्रिलोचन निर्मल पौडेलले २ हजार ३५९ मतभार प्राप्त गर्नुभएको सञ्जेलले जानकारी दिनुभयो । 

राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यको पद रिक्त हुँदै छ । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिने भएपछि ७ वटै प्रदेशमा आज निर्वाचन भएको हो । 

राष्ट्रियसभा सदस्य रहेका बागमती प्रदेशतर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ । जस अनुसार महिला, अपाङ्गता ÷अल्पसङ्ख्यक, दलित र अन्य समूहका १÷१ सिटका बिहीबारको निर्वाचनबाट निर्वाचित हुनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button