तपाईँ सुन्दै हुनुहुन्छः

देशभरका कुमाल समुदायले चितवनमा मनाए माघे सङ्क्रान्ति

भरतपुर । आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सबै जातजाति र धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहयोग गर्ने बताउनुभयो । यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन हुँदैछ ।

कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्रान्ति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले जानकारी दिनुभयो । राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उहाँले बताउनुभयो ।

सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदी किनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।

मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सङ्क्रान्ति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको उहाँले बताउनुभयो ।

नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे सङ्क्रान्ति दसैँ, तिहारभन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वका बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् ।

पछिल्लो जनगणना अनुसार एक लाख २९ हजार सात सय दुई कुमाल रहेका छन् । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै छ हजार कुमाल समुदायका मानिस सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button