तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको पानी सुन्दरीजल आउन शुरु

काठमाडौँ । गत बुधबारदेखि काठमाडौँका लागि पथान्तरण गरिएको पानी आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आउन शुरु गरेको छ ।

बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आएसँगै प्रशोधन प्रक्रिया शुरु भएको र माघ १ गतेबाट उपभोक्ताको धारमा वितरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

सुन्दरीजल पानी प्रशोधन केन्द्रको अवलोकनका क्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पानीको सन्तुलित वितरण प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो ।

मन्त्री यादवले काठमाडौंबासीलाई बाह्रै महिना स्वच्छ पानी खुवाउने सरकारको सङ्कल्प पुरा गर्न स्थानीय पानीको श्रोत व्यवस्थापन र मेलम्चीको दोस्रो चरणको आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले चुहावट नियन्त्रण गरी व्यवस्थित तालिका बनाएर क्षेत्रगत रुपमा पानी वितरण गरिने बताउनुभयो ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार आज मेलम्चीको पानी सुन्दरीजल आइपुगेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button