तपाईँ सुन्दै हुनुहुन्छः

‘चलचित्र क्षेत्रको प्रोत्साहन, विकास र प्रवर्द्धनमा सरकार गम्भीर’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र क्षेत्रको प्रोत्साहन, विकास र प्रवर्द्धनमा सरकार सधैँ गम्भीर रहेको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको केन्द्रिय चलचित्र जाँच समिति र सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले चलचित्र क्षेत्रका समस्या सम्बोधन हुने गरी चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पेश गर्ने तयारीमा रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले सरोकारवालाबिचको छलफलबाट प्राप्त सुझावका आधारमा निर्माण गर्ने कानुन कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

मन्त्री शर्माले चलचित्र मनोरञ्जन मात्र नभएर आमसञ्चारको क्षेत्र समेत भएको बताउँदै स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय चलचित्र निर्माणमा ध्यान आग्रह गर्नुभयो ।

मन्त्री शर्माले संविधानले वर्जित गरेको विज्ञापनहरू बजिरहेकाले त्यसलाई रोक्न विज्ञापन बोर्डले ध्यान दिनुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्रकर्मीहरूले दिएका सुझावहरूलाई मन्त्रालयले सम्पत्तिका रुपमा लिएको बताउँदै समयसापेक्ष कानुन निर्माणमा मन्त्रालय क्रियाशील रहने बताउनुभयो ।

सचिव सुवेदीले चलचित्र विकास बोर्ड र केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को निकायगत स्वायत्तता र सीमाका विषयमा गहन छलफल गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का अध्यक्ष एवम् मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा मन्त्रालयको भूमिका सधैँ सहयोगी हुने बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी ऐन जारी हुन सके धेरै समस्या समाधान हुने बताउँदै अहिले कै विधेयक मस्यौदामा भने परिमार्जन हुनुपर्ने बताउनुभयो ।

बोर्ड पूर्व अध्यक्ष तथा निर्देशक, निर्माता नीर शाहले चलचित्र क्षेत्रको मूल समस्या पूँजी र बजारसँगै समयसापेक्ष कानुनी निर्माण हुन नसक्नु रहेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र निर्माता, निर्देशक, अभिनेताहरू, चलचित्र क्षेत्रसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिहरूले समयसापेक्ष कानुनमा परिमार्जन हुन नसकेको, चलचित्र क्षेत्र प्रवर्द्धन र विकासमा राज्यको ध्यान नपुगेको, सेन्सरका नाममा अनावश्यक दुःख दिएको लगायतका गुनासोहरू गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का अध्यक्ष एवम् मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्य सचिव विशाल सापकोटा, सेन्सर बोर्डका विज्ञ ऋषिराज आचार्य, चलचित्र बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल र ओस्कार कलेजका संयोजक नवनिधि दाहालले चलचित्र क्षेत्रका फरक–फरक विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button