तपाईँ सुन्दै हुनुहुन्छः

ढड्यान क्षेत्र, बर्षेनी लिन्छ यात्रुको ज्यान

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको सिद्धबाबा क्षेत्रलाई अत्यधिक दुर्घटना हुने सडक खण्ड मानिन्छ । 

सिद्धबाबा क्षेत्र जत्तिकै दुर्घटना हुने अर्को स्थान हो तानसेन–तम्घास सडक खण्डको रिब्दीकोट गाउँपालिका–२ लघुवा माथिको ढड्यान क्षेत्र । ढड्यान क्षेत्र सवारी दुर्घटनाका हिसाबले जिल्लामै अत्यधिक दुर्घटना स्थल पनि हो । बर्षेनी यस ठाउँमा सवारी दुर्घटना हुँदा कैयौँको ज्यान जाने गरेको छ । 

यस क्षेत्रमा साँगुरो सडक, उकालोमा घुम्ती र सडकमा शीत पर्ने कारण बाटो चिफ्लो हुँदा बर्षेनी ठूला दुर्घटना हुने गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार यस स्थानमा बि Þस. २०६४ सालदेखि हालसम्म ७० जनाको दुर्घटनामा परि मृत्यु भएको छ । ५१ जना घाइते भएका छन् । यस क्षेत्रमा मानिसको ज्यानै जाने गरी हालसम्म १६ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

रिब्दीकोट २ का जनप्रतिनिधि पवन कुँवरले चालकको लापरवाही तथा ग्रेड नमिलेको साँघुरो सडक भएका कारण ढड्यान क्षेत्रमा अत्यधिक सडक दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले आफु त्यहीको स्थानीय भएका कारण पनि दुर्घटना हुने बित्तिकै उद्धार गरेर अस्पतालसम्म पठाउने गरेको अनुभव सुनाउनुभयो । उक्त क्षेत्रमा सडक छेउमा पर्खाल वा फलामे तारबार नगरिँदा दुर्घटनाको जोखिम झनै बढेको छ । 

रिब्दीकोट २ का स्थानीय यदुमणि नेपालले जोखिमयुक्त सडक यस क्षेत्रमा पर्ने,बाह्रै महिना शीत पर्ने र सडक स्तरोन्नति गर्न पहिरोका कारण झनै जोखिम हुने भएकाले यसको विकल्पमा बाइपास सडकको ट्रयाक खुलेको बताउनुभयो । त्यसको विकल्पमा दुई घुम्ती, पन्चासी हुँदै लघुवासम्म बाइपास सडक खुलेको र यस बाइपासलाई स्तरउन्नती गर्न सक्ने हो, भने दुर्घटनाको जोखिम कम गर्न सकिने उहाँको धारणा छ । बाइपास सडक स्तरउन्नती गरि दुर्घटना कम गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने  नेपालको भनाई छ ।  

तानसेन तम्घास सडक खण्डको हार्थोक देखि जोर्ते सम्मै करिब ८ किलोमिटर सडक ओरालो भएका कारण सवारीलाई बीच बीचमा रोकेर ब्रेक तथा स्टेरिङ्ग चेक गरेर मात्र सवारी चलाउन प्रहरीको निर्देशन भएपनि निर्देशन पालना भएको पाइँदैन । जसले दुर्घटना दोहोरिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button