तपाईँ सुन्दै हुनुहुन्छः

अछाम  बारलाका विद्यार्थी पाँच महिनादेखि दिवा खाजाबाट बञ्चित

अछाम । अछामको पंचदेवल विनायक नगरपालिका वडा ८ बारलका विद्यार्थीहरु गत पाँच महिनादेखि दिवा खाजाबाट बञ्चित भएका छन् । आधारभूत तहका विद्यार्थीहरूलाई नेपाल सरकारले दिएको दिवा खाजा त्यहाँका विद्यार्थीहरूले पाँच महिनासम्म पनि नपाएका हुन् ।

पछिल्लो समयमा स्थानीय स्तरमा रहेका सहकारी सँग सम्बन्धित विद्यालय र स्थानीय सरकारले समन्वय गर्दै विद्यालयमा रहेका बालबालिकाहरूलाई दिवा खाजा खुवाउने निर्णय अनुसार खुवाउनुपर्ने भएपनी बारलाका ८ वटा विद्यालयका विद्यार्थीहरू भने यो अवसरबाट बञ्चित भएका हुन् ।

पालिकाले वडाका विद्यालय, सहकारीबीच सम्झौता गराउनुपर्ने भएपनी हालसम्म स्थानीय सहकारीसँग सम्झौता नगरिदिँदा उक्त वडाका विद्यार्थीहरू दिवा खाजा खानबाट बञ्चित भएका स्थानीयले बताएका छन् । पालिकाका अन्य वडाहरूमा यो कार्यक्रम नियमित रुपमा अगाडी बढेको भएपनी वडा न ८ मा भने अहिलेसम्म कार्यान्वयन नहुँदा विद्यार्थीहरू मर्कामा परेका अभिभावक नरेन्द्र बहादुर शाहीले बताउनुभयो । यो सरकारको कमजोरी हो पालिकाले समयमै सम्झौता नगरिदिँदा हाम्रा बालबालिकाहरू यो अवसरबाट बञ्चित हुनु राम्रो कुरा नभएको शाहीको गुनासो छ ।

वडा नं. ८ मा रहेको सुप्रिम कृषि सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउने भनी छनौट गरिएको तर हालसम्म उक्त सहकारीसँग लिखित सम्झौताका लागि स्थानीय सरकारले कुनैपनि पहल नगरेपछि विद्यार्थीहरू आफ्नो खाजाखान पाउने अधिकारबाट बञ्चित भएका सहकारी अध्यक्ष प्रेम कुमार खत्रीले बताउनुभयो । 

सरकारले लिखित रुपमा सम्झौता गरिदिएपछि सोही दिनदेखि आफूहरू विद्यालयलाई दिवा खाजाको आवश्यक खाद्यान्न उपलब्ध गराउन तयार रहेको अध्यक्ष खत्रीको भनाई छ । यता वडा अध्यक्ष छत्र बहादुर शाहीले वडा सरकारले वडामा रहेको सुप्रिम सहकारीलाई वडाका ८ वटै विद्यालयमा दिवा खाजाका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउन दिने निर्णय गरेपनि पालिकाले समयमै सम्झौता नगरिदिँदा समस्या भएको बताउनुभयो ।

वडामा रहेका सबै विद्यालय र अन्य सरोकारवालाको बैठकले स्थानीय सहकारीलाई नै जिम्मेवारी दिने निर्णय गरेपनि ढिलाइ भएकाले जति सक्दो चाँडो सम्झौताका लागि पालिकालाई अनुरोध गर्नुभएको छ । अन्य ठाउँमा कार्यक्रम लागु भई विद्यार्थीहरुले धमाधम दिवा खाजा खाएपनी वडा नं. ८ का विद्यार्थिहरुले अहिलेसम्म दिवा खाजा खान नपाउनु दुखद कुरा भएको अध्यक्ष शाहीको भनाई छ ।

पञ्चदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल भने यस विषयमा केही प्राविधिक कारणले ढिलो भएकाले चाँडै छलफल गरि विद्यार्थीलाई दिवा खाजा खुवाइने प्रतिबद्धता जनाउनु भयो । पालिकामै यो कार्यक्रम अन्य पालिकाको भन्दा ढिलोगरी सुरु भएको र सहकारीका पदाधिकारीसँगको छलफल भएको दिन सुप्रिम सहकारीबाट कुनैपनि व्यक्ति नआएपछि सम्झौताको कार्य अघि नबढेको दाबी गर्नुभयो  । उहाँले आफु त्यो बेला उपचारको लागि बाहिर गएकाले उक्त सहकारीका बारेमा धेरै कुरा बुझ्न नपाएको बताउनुभयो । यसबारे आज मंगलबार नै छलफल गरिने उप प्रमुख रावलले बताउनुभयो । 

विद्यार्थीहरूको स्वास्थ्य एवम् पोषणको विद्यमान स्थितिमा सुधार ल्याउने, पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रहरूका बालबालिकाहरूलाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाहरूको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा वृद्धि गर्ने यो कार्यक्रमको उद्देश्य भएपनी उक्त वडामा यो कार्यक्रम अहिलेसम्म लागू नहुँदा स्थानीय सरकार र अन्य सरोकारवालाको कमजोरी देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button