तपाईँ सुन्दै हुनुहुन्छः

श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका युवाहरूले श्रमदानमार्फत सिरुबारी आर्यघाटदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण सुरु गरेका छन् । रिसिनचौतारी, चौउर, खौरेट, कौलटोल बस्तीका युवाहरू मिलेर दिवङ्गत व्यक्तिलाई रिसिनचौतारी हुँदै कालीगण्डकी किनारको सिरुबारी आर्यघाट पु¥याउने पदमार्ग श्रमदान जुटाएर बनाउने अभियान थालेका हुन् ।

विकास र सामाजिक एकताको लागि युवाको अभियान अन्तरगत गाउँमा भएका अगुवाको सल्लाह र युवाहरूको नेतृत्वमा श्रमदान र आर्थिक सहयोग अभियानमार्फत पदमार्ग निर्माण अघि बढाइएको पदमार्ग निर्माण समितिका संयोजक सागर केसीले बताउनुभयो ।
निर्माण सुरु भएको पाँच दिन सम्म बेनी–जोमसोम सडक भन्दा तल पक्की पदमार्ग निर्माण सकेर सडक माथि निर्माण सुरु भएको अभियानका संयोजक केसीले बताउनुभयो । ‘‘गाउँबाट दिवङ्गतलाई आर्यघाटसम्म ल्याउने जीर्ण पदमार्गलाई पक्की बनाउने अभियानमा गाउँका सबै श्रमदान र आर्थिक सहयोगमा जोडिने क्रम बढेको छ । सडक भन्दा तल ८६ वटा सिँढी बनाएका छौ। सडक भन्दा माथि पदमार्ग बनाउने अभियान चलेको छ,”–उहाँले भन्नुभयो ।

यस पदमार्गको रिसिनचौतारी देखि कालीगण्डकी किनारको सिरुबारी आर्यघाटमा निस्कने बाटो साँगुरो, जीर्ण बनेको पदमार्गलाई दिगो र पक्की बनाउन आवश्यक पर्ने सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेश तथा विदेशमा रहेका भगवतीवासीमार्फत श्रमदान र आर्थिक सहयोग आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । श्रमदानसंगसंगै हालसम्म डेढ लाख रुपैयाँ भन्दा माथि रकम सङ्कलन भएको उल्लेख गर्दै आउने क्रम जारी रहेको उहाँले भन्नुभयो ।

गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको श्रमदानमा खटिएका अर्का युवा आकाश केसीले बताउनुभयो । युवाहरू राजनीतिमा भन्दा पनि विकासमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने धारणासहित गाउँका सबै मिलेर अभियान अघि बढेको छ। साथ र सहयोग प्राप्त भएसम्म अभियानलाई पूर्णता दिने लक्ष्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button