तपाईँ सुन्दै हुनुहुन्छः

तीनै तहका सरकारबीच समन्वय आवश्यक : मन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले समृद्ध नेपालको परिकल्पना साकार गर्न तीनै तहका सरकारबीच समन्वय अपरिहार्य भएको बताउनुभएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित इर्खु माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नै ढङ्गबाट काम गरिरहेको उल्लेख गर्दै एकआपसमा समन्वय र सहकार्य गरेर काम गर्न सकिए मुलुकको समृद्धि सम्भव हुने बताउनुभयो ।

संघीय सरकारले ठूला आयोजना, प्रदेश सरकारले मझौला र स्थानीय तहले साना तथा केही मझौला आयोजनामा ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिने बताउँदै आगामी दिनमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने र उपचार खर्च नपाएर कोही नेपालीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता नरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसका लागि सबै पूर्वाधार बन्दै गएको उल्लेख गर्नुभयो ।

विशेष अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले पालिकाभित्र आगामी वर्षदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा लागु हुने बताउनुभयो । उहाँले त्यसका लागि विद्यालय मर्ज र शिक्षक दरबन्दी मिलानको कार्य तीव्र पारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button