तपाईँ सुन्दै हुनुहुन्छः

मानवअधिकारको प्रत्याभूति हुन नसेको हरवाचरवाको गुनासो

राजविराज । ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने नाराका साथ यस वर्ष ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर, हरवाचरवाले अहिलेसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरेपछि सन् १९५० देखि प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार मनाउने गरिएको भए पनि सप्तरीमा हरवाचरवाहरुले आफ्नो मानव अधिकारको खोजी गरिरहेका छन् ।

हरवाचरवा अधिकार मञ्च सप्तरीले मानव अधिकार दिवसको अवसरमा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आइतबार राजविराजमा पत्रकार सम्मेलन गरी सरकार समक्ष ४ बुँदे माग प्रस्तुत गरेको छ ।

मञ्चका जिल्ला अध्यक्ष देवलाल रामले हरवाचरवाको लगत प्रमाणीकरण र परिचयपत्र वितरणको प्रक्रिया तत्काल थालनी गर्न, बजेटमा हरवाचरवाको पहुँच, भूमि, आवास, शिक्षा र स्वास्थ्यमा पहुँच र प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुने विपन्न गरिब लक्षित कार्यक्रममा हरवाचरवाहरुलाई प्राथमिकता सहितका माग प्रस्तुत गर्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय हरवाचरवा महासङ्घका महासचिव लागेन्द्र सदाले हरवाचरवाले मानव अधिकारको उपभोग गर्न नसकेकोले दबाब स्वरूप मानव अधिकार दिवसको दिन विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । उहाँले मधेश प्रदेशको ८ जिल्लामा करिब एक लाख ५० हजार हरवाचरवा रहेको जसमा सबै भन्दा बढी ६० हजार सप्तरीमा रहेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दलित जनचेतना समाजका रामलखन राम, दलित जनचेतना संगमका प्रेमकुमार विश्वकर्मा र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका चतुर नारायण चौधरीले हरवाचरवाको समस्याबारे सरकार गम्भीर नभएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button