तपाईँ सुन्दै हुनुहुन्छः

विपिन जोशीका परिवारजन र प्रधानमन्त्री दाहालको भेट

कञ्चनपुर । असोज २० गतेका दिन हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीका परिवारजनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । धनगढी विमानस्थलमा विपिनका आमाबुवा सहित परिवारजनले प्रधानमन्त्री दाहाललाई भेटेर यथाशीघ्र विपिनको अवस्था पत्ता लगाई सकुशल उद्धारका लागि अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले विपिन हमासको नियन्त्रणमा रहेको भनिएको र उनको रिहाइको लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको आश्वासन दिनुभएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा छोराको उद्धारका लागि सरकारले थप पहल गर्ने आश्वासन मिलेको विपिनका बुवा महानन्द जोशी बताउनु हुन्छ । सरकारले पहल गरिरहेको भने पनि पहिलो चरणको अल्पकालीन युद्ध विश्रामका समयमा छोराको रिहाइ हुने आशा गरेका परिवारजन अहिले थप निराश भएका छन् ।

इजरायली सेनालाई उद्धृत गर्दै इजरायल स्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरे पनि उनको अवस्था अझै अज्ञात छ । सरकारले थप कूटनीतिक पहल गरेरै भए पनि छोराको उद्धार गरिदिन परिवारजनको आग्रह छ ।

केही दिनअघि परराष्ट्र मन्त्री एनपी साउदले विपिनका आमाबुवासँगको भेटमा कतारको दोहामा हुने सम्मेलनका सहभागी हुन जाने र त्यस क्रममा थप पहल गरेर जसरी पनि विपिनको उद्धार गरेर स्वदेश ल्याउने आश्वासन दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button