तपाईँ सुन्दै हुनुहुन्छः

फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने बताउनु भएको छ । आज देखि पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले फेवाताल संरक्षण गर्ने विषयमा अदालतले दिएको आदेश कार्यान्वयन गर्न आफूहरू कटिबद्ध भएको बताउनु भएको हो । 

यसमा सबैको साथ सहयोग आवश्यक भएको बताउँदै उहाँले आदेशमा स्थानीय, प्रदेश र संघ सरकारको समेत साथ सहयोग र समन्वय भूमिका आवश्यक भएको जनाउनु भयो । फेवातालको ६५ मिटर भित्र रहेका अवैध संरचना हटाउने र वैध संरचनाको क्षतिपूर्ति दिने गरी त्यसको विषयमा आफूहरूले चरणबद्ध रुपमा छलफल गर्न सुरु गरेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । 

फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयन गर्न तीन तहका सरकारको काँधमा जिम्मेवार आएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न स्थानीयहरूसँग समन्वय गर्नुपर्ने आवश्यकता देखेर आफ्नो नेतृत्वमा सहजीकरण समिति समेत गठन भएको उहाँको भनाई थियो । 

अदालतले दिएको आदेशलाई कार्यान्वयन गर्नु आफूहरूको कर्तव्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले सबै सामाजिक संघ संस्था पर्यटन संघ संस्थाहरूसँग सहजीकरण गर्दै छलफल गरी समाधानको लागि तयार भएको जनाउनु भयो । आदेश हुन्छ हुँदैन निगरानी राखेर जानकारी गराउनु भनेको छ । 

फेवाताललाई जति संरक्षण गर्न सकिन्छ त्यति नै यहाँको पर्यटन प्रबद्र्धन हुने मुख्यमन्त्री पाण्डेले दाबी गर्नुभयो । अदालतले दिएको निर्णय पालना गर्न आफूहरू कटिबद्ध भएको उहाँले बताउनु भयो ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । पोखरा पर्यटनको राजधानीको रुपमा घोषणा हुँदा तत्काल केही पाउनु भन्दा पनि पर्यटकहरूलाई यसले केन्द्र बनाउन सकिने उहाँको भनाई थियो । 

पर्यटकीय राजधानी घोषणा भए पछि हुनु पर्ने पूर्वाधारहरू के के हुन त्यसलाई कसरी सम्बोधन गर्ने त्यसको रिपोर्ट आए पछि त्यस तर्फ प्रदेश सरकारले ध्यान दिने भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।

गाजा र घरेलु मदिरालाई प्रदेश सरकारले कानुनी रूपमै मान्यता दिने तयारी गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “गाजा केवल लागु पदार्थ मात्र होइन यो औषधीजन्य गुण भएको बस्तु हो, यसको उद्योगधन्दाबाट बस्तुहरू उत्पादन हुन सक्छन् त्यसैलाई टेकेर प्रदेश सरकारले कानून निर्माण गर्न लागेका छौँ, यसमा एउटै चिन्ता छ यसको दुरुपयोग नहोस् । “ यस विषयमा मस्यौदा समेत तयार भएको बताउँदै मुख्यमन्त्री पाण्डेले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र गाँजा उत्पादनको लागि कानुनी रुपमा मान्यता दिने गरी अघि बढ्न लागेको बताउनु भयो  । आगामी करिब डेढ महिनामा बस्ने संसद् बैठकमा यी दुई विषयको सदनमा छलफल हुने उहाँले बताउनु भयो । 

उद्योग व्यापारको प्रबद्र्धन गर्न कानुनी अप्ठ्यारा भएको अवस्थामा त्यसको सहजीकरण प्रदेश सरकारले गर्ने भएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । प्रदेशका उद्योग पर्यटन पन तथा वातावरण मन्त्री दिपेन्द्र थापाले प्रदेशको राजधानी पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा सरकार तयार रहेको बताउँदै पर्यटक आकर्षणका केन्द्रहरूको संरक्षण र प्रचारप्रसार गर्न आग्रह गर्नु भयो । 

प्रदेशका सांसद बिन्दुकुमार थापाले देशको अहिलेको यो अवस्थामा उद्योगी व्यवसायीहरूलाई राज्यले केही सहुलियतका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो। उक्त मेला पुष १ गतेसम्म चल्ने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button