तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई बलियो बनाउने अभियानमा लाग्न सभापति देउवाको आग्रह

रुपन्देही । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको छ ।

शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो अभियानमा साथ दिन आव्हान गर्नु भयो । सभापति देउवाले गौतम बुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वरिष्ठ नेता डा. शेखर कोइरालाले जनताका पिर मर्कामा साथ दिने नेपाली कांग्रेसको जिम्मेवारी हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस नेपालको जीवन्त पार्टी भएकाले पनि त्यो पार्टीमा रहेका हरेक सदस्य क्रियाशील रहनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री गगनकुमार थापाले पार्टीलाई बलियो बनाउने सङ्कल्पमा लाग्न आग्रह गर्नुभयो । उहाँको अब पार्टीभित्र पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई साथ दिनुपर्ने बताउँदै देशैभर पार्टीलाई बलियो बनाउने अभियानमा साथ दिने योजना प्रदेश सम्मेलनले गर्नुपर्ने बताउनुभयो ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई मिसन ०८४ कुर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । पछिल्लो निर्वाचनमा कुरेर बस्नुभन्दा अहिलेबाटै जनताका काममा साथ दिनपर्ने उहाँको भनाइ थियो ।

सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य दीपक गिरी, चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुन लगायतले सम्बोधन गर्नुभएको थियो ।

आइतबारसम्म चल्ने सम्मेलनमा प्रदेशभरबाट ७५० जना प्रतिनिधि सहभागी हुनुभएको छ । सम्मेलनले पुस १६ गते हुने पार्टीको केन्द्रीय नीति सम्मेलनमा पेश गर्ने सुझाव तथा पार्टी सञ्चालनका रणनीति तयार गर्ने प्रदेश अध्यक्ष अमरसिंह पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button