तपाईँ सुन्दै हुनुहुन्छः

‘विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक’

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकासका लागि तीन तहका सरकार एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

सुर्खेतको चिंगाड महोत्सव तथा खेलकुद कार्यक्रमको उद्घाटनका अवसरमा उपप्रधानमन्त्री खड्काले तीन वटै तहका सरकार मिलेर काम गर्न सके जनताले चाहे अनुसारको विकास सम्भव हुने धारणा राख्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयन र संविधान प्रदत्त अधिकार स्थापित गर्न संघीय कानुन कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो । उहाँले संसद्को आउँदो हिउँदे अधिवेशनबाट संघीय प्रहरी ऐन, शिक्षा ऐन लगायतका आवश्यक कानुन पारित गर्ने सरकारको तयारी रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले सरकार जनताको सुख दुःखको साथी भएको बताउँदै जनताको उन्नति र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताउनुभयो । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गरी जनतालाई थप अधिकार सम्पन्न र बलियो बनाउने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

उहाँले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै खेल आयोजनाले कर्णालीमा खेलकुद पूर्वाधार निर्माणले गति पाउने र खेलाडीलाई पनि थप सहज हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button