तपाईँ सुन्दै हुनुहुन्छः

बेनौलीमा झण्डा मेला लगाउने विषयमा झडप

बारा । बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले आँठ राउन्ड गोली फायर गरेको छ । 

बेनौलीमा झण्डा मेला लगाउने विषयमा सोमबार राती गाउँका दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्र रूप लिएपछि  ढुंगामुढा हानाहान तथा झडप समेत  भएको  थियो । प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन गएराती करिब  ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।

सोमबार राति करिब १० बजे दुई राउन्ड गोली फायर गरी स्थिति शान्त पारेको थियो ।त्यसको केही समयपछि करिब ११ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेका  बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

अहिले  स्थिति सामान्य रहेको उहाँले बताउनुभयो । झडपमा ढुङ्गा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेका छन् । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button