तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा मुस्लिम धर्मावलम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरूको अपिल

सुनसरी । सुनसरीको छुट्टा छुट्टै स्थानमा हुन लागेको मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सुनसरीका प्रमुख राजनीतिक दलहरूले अनुरोध गरेको छ । 

आज बसेको सर्वदलीय बैठकले सुनसरीका प्रमुख राजनीतिक दलहरूले मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सरोकारवालालाई अनुरोध गरेको हो । 

कार्यक्रम स्थगन गर्ने सहमति अनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहबी नगरपालिका १ स्थित प्राष्टोकीमा मङ्सिर ५ देखि ७ गतेसम्म र इटहरी नगरपालिका १३ स्थित खनारमा मङ्सिर ७ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम रोक्ने निर्णयलाई आज बसेको सर्वदलीय बैठकले पनि ऐक्यबद्धता जनाएका छन् । 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिकजस्ता पक्षहरूको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र सङ्कल्प भएको र सोहीअनुसार राज्य सञ्चालन हुँदै आएको भनी संयुक्त विज्ञप्ति जारी गर्दै सुनसरीका राजनीतिक दलहरूले वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्कालका लागि कार्यक्रम स्थगन गर्ने निर्णय भएबमोजिम कार्यान्वयन गर्न सरोकारलाहरुलाई अपिल गरिएको छ । 

वर्तमान सुरक्षा संवेदनशीलताको अवस्थामा केही उच्छृङ्खल तत्त्वहरूको समेत घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हाललाई सो कार्यक्रम स्थगित गर्न प्रमुख राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।  

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी,नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु),राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बहादुर बस्नेत र जनता समाजवादी पार्टी नेपाल सुनसरीका अध्यक्ष भगीरथ खत्वेद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा मुलुकको वातावरण सहज भए पश्चात् आपसी समन्वयमा आगामी कार्यक्रम तय गर्न उपयुक्त देखिएमा सोही बमोजिम हुने र गृह मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्न सबै ठाउँमा उभिनुपर्ने उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button