तपाईँ सुन्दै हुनुहुन्छः

छठपर्व सुरु, पोखरीहरू सजाउने कार्य अन्तिम चरणमा

पर्सा । तराई मधेसका जिल्लामा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा सिँगार्ने काम भइरहेको छ ।

कतिपय पोखरीका घाटहरूमा सरसफाइ गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्त्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा, नगवा, छपकैया, श्रीपुर पोखरी तथा रानी घाटसहितका पोखरीलाई स्थानीयवासीको सक्रियतामा सरसफाइ गरी सजाउने काम अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारहरूमा निकै भीड देखिन्छ । विगतभन्दा यस वर्ष छठमा आवश्यक पर्ने सामानको मूल्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् । यो वर्ष भोलि (आइतबार) षष्ठीका दिन विधिपूर्वक साँझको अर्घ्य दिने परम्परा भए पनि यसको मुख्य विधि भने हिजैदेखि निष्ठापूर्वक सुरु भइसकेको छ ।

छठ पर्वको पहिलो दिन हिजो व्रतालुहरूले नहायखाय गरी पर्वको आरम्भ गरेका छन् । छठको दोस्रो दिन आज खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुहरू दिनभरि उपवास बस्ने पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । उहाँका अनुसार अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरूले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा बजार तथा पोखरी, घाटहरूमा भीड लाग्ने गर्छन् । अहिले गाउँ गाउँ घरघरमा छठ पर्वको गीत गुन्जिन थालेका छन् । योसँगै सूर्यषष्टी अर्थात् छठ पर्व प्रारम्भ भएको छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदायी समेत मानिएको पण्डित शास्त्रीले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रुपमा रहेको फलफूल, मिठाई, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गरिन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । छठका लागि तयार पारिएका घाटहरूमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रतालु महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्दछन् ।

महाभारतअनुसार द्रौपदी सहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथा अनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको जनविश्वास रहेको पण्डित शास्त्रीले बताउनुभयो ।

घडिअडर्वा पोखरीमा छठ घाट निर्माण
छठ पर्वका लागि वीरगञ्जस्थित घडिअडर्वा पोखरीलाई दुलही झैँ सिँगारिएको छ । छठ घाटको व्यवस्थापन र सजावटको काम पूरा भएको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

यो वर्ष घडिअडर्वामा छठ घाटको सजावट र व्यवस्थापनमा गर्न करिब रू १५ लाख ४१ हजार खर्च हुने अनुमान गरिएको समितिका अध्यक्ष दिलीप साह कानुले जानकारी दिनुभयो । टेन्ट पण्डाल, परिसर बाहिरको बत्ती सजावट, भिडियोग्राफी, पुरस्कार, सरसफाइ लगायत काममा खर्च भएको उहाँको भनाइ थियो ।

छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी एक सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वयंसेवक परिचालन गरिने अध्यक्ष कानुले बताउनुभयो । उहाँका अनुसार छठ घाट परिसरमा २० वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ ।

छठ पर्वका अवसरमा रक्तदान
छठ पर्वका अवसरमा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन नदिन र असहायहरूमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।

आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
छठ पर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न वीरगञ्ज नगर क्षेत्रसहित जिल्लाभरि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार छठघाटमा सुरक्षाका लागि थप प्रहरीसमेत परिचालन गरिने छ ।

छठ व्रतालुहरू पूजा गर्न पोखरी, नदी, तलाउ लगायतका स्थानमा जाँदा चोरी, डकैती, लुटपाट हुनसक्ने भएकाले विशेष क्युआर टी टोली, मोबाइल गस्तीदेखि, स्ट्राइकिङ सहितका प्रहरी टोली परिचालन गरिने प्रहरी उपरीक्षक शाहले बताउनुभयो । छिटो प्रतिक्रिया (फास्ट रिस्पोन्स)का लागि क्युआर टी अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलगत्तै वीरगञ्ज महानगरमा पाँच मिनेटभित्र क्युआर टी टोली पुग्ने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button