तपाईँ सुन्दै हुनुहुन्छः

तीन जनालाई त्रिमूर्ति पुरस्कार

काठमाडौँ । त्रिमूर्ति निकेतनले छ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने प्रा. मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

साथै बहुचर्चित मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुहुने श्री हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसै गरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशनमा ल्याउनु हुने विराटनगर निवासी श्री जय पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button