तपाईँ सुन्दै हुनुहुन्छः

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

धनुषा । डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।

दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ । उनीहरू पुख्र्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन् । बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँ टोलका हरिमलिक डोमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षैभरिलाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन । नाङ्लोको माग यहाँको बजारमा मात्र होइन, वरिपरिका गाउँमा समेत भइरहेकाले वर्षभरिलाई गुजारा गर्न र बचत गर्न छठपर्व हाम्रा लागि निकै महत्त्पूर्ण छ ।”

अहिले प्रतिनाङ्लो बाँसको चोयाअनुसार रु सात सय, रु छ सय, रु पाँच सय र रु चार सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका डोम झल्कु मल्लिकले बताउनुभयो ।

मिथिला नगरपालिका–२ की सुकमरिया र फूलोदेवी मलिक (डोम) भन्नुहुन्छ, “हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ रु ५० का दरले बिक्री गरिरहेका छौँ । छठपर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्छ ।”

डोम समुदाय यतिबेला बाँसका छठपर्वमा प्रयोग हुने सामग्री बनाउँदै बेच्दै व्यस्त छ । गाँस, बास र कपासकै जोरजाममा पिढीँदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो–मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेका जनकपुरधाम उपमहानगरपालिका–१ स्थित धर्मवान टोलकै रीता मल्लिक डोमिनले बताउनुभयो ।

डालो बुन्दै गरेका वटेश्वर गाउँपालिका–५ शान्तिपुरका इन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको बताउनुभयो ।

छठपर्व मनाउने प्रत्येक तराइवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच–सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । भङ्गाहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले जिल्लाको गाउँ–गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

छठपर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको उनीहरू बताउँछन् । गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मिथिला नगरपालिका–७ का ५५ वर्षीय राजवीर डोमले बताउनुभयो । गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स–परिवार खाने गरेको डोमले कात्तिकमा मीठा–मीठा परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया रुमिनी डोमिनले बताउनुभयो । डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन् ।

मिथिला नगरपालिका–७ हरिहरपुरका रामविनय मलिकका अनुसार छठपर्व आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्याएर एकजना डोम परिवारले यस समयमा रु एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन् । छठ सकेपछि खासै काम हुँदैन । यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन् । क्षीरेश्वरनाथ नगरपालिकाको डोम समुदायले बाँसजन्य पुख्यौैली पेसाबाट र कुम्हार समुदायले माटोको वर्तन मूर्ति बनाएर आर्थिक उपार्जन गर्ने गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button