तपाईँ सुन्दै हुनुहुन्छः

‘अरबा–अरबाइन’ विधिसँगै छठ पर्व सुरु

सुनसरी । आज बिहीबार देखि ‘अरबा–अरबाइन’ विधिसँगै छठ पर्व सुरु भएको छ ।

आस्थाको महापर्व छठ आजदेखि पहिलो दिन व्रतालुहरू माछा मरुवा कोदो अर्थात् माछा, कोदो लगायतका बिटुलो मानिने खाना नखाई चोखो खाने विधिवत् रुपमा सुरु भएको हो ।

जसलाई स्थानीय भाषामा माछा मरुवा बार्ने दिन तथा ‘अरबा–अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको सुनसरी दुहबी ६ का पण्डित सतिश झाले बताउनुभयो ।

छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधि गर्छन् । तेस्रो दिन शनिबार बेलुकी खरना मनाइन्छ । साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको गहुँको दोस्ती रोटी, चामल, सक्खर र दूध मिलाएर बनाएको खिर कुल देउताको पुजाकोठामा छठी माईलाई चढाएर प्रसाद स्वरूप ग्रहण गर्ने गरिन्छ ।

छठ पर्वको मुख्य पूजा आइतबारका दिन परेको छ । यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरिवल, अदुवा, उखु लगायतका पूजा सामग्री लिई अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ ।

पर्वको अन्तिम अर्थात् पाँचौँ दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत् रुपमा समापन गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button