तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँके । बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् ।

बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाउनुभएको हो ।

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताउनुभयो । उहाँले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताउनुभयो ।

‘म आफु ३५ वर्षको हुँदादेखि नै दिदीबहिनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनी बीचको प्रेमको सम्बन्ध पनि हो ।’ सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगञ्जस्थित बौद्ध गुम्बा टोलमा रहेको सिद्धिकीको घरमा जानुभएको उहाँले बताउनुभयो ।

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button