तपाईँ सुन्दै हुनुहुन्छः

मुस्लिम युवाहरूद्वारा तिहारको टीका ग्रहण

नेपालगन्ज । बाँके धार्मिक विविधता भएको जिल्ला हो । यहाँ इस्लाम धर्मावलम्बीको पनि बाक्लो बसोबास छ ।

हिन्दुको चाडबाडमा इस्लाम र इस्लामको चाडबाडमा हिन्दुहरू सरिक हुने मात्र नभएर पर्व मनाउने संस्कार पनि बढ्दै गएको छ । यसले धार्मिक सहिष्णुता बलियो बनाएको छ ।

दशैंमा यहाँका केही मुस्लिमले टीका लगाउने गरेका छन् । तिहारमा पनि टीका लगाउने क्रम बढेको छ । बाँकेको नरैनापुरका मुस्लिम समुदायका युवाहरूले हिन्दु धर्म अन्तर्गत मनाइने तिहार मनाउँदै आएका छन् । उनीहरूले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार भाइटीका लगाएका छन् । उनीहरूले राप्तीसोनारीकी एक हिन्दु महिलाबाट टीका लगाएका हुन् ।

नरैनापुर गाउँपालिका–३ का साकिर खान र सोही ठाउँ बस्ने राज खानले आफूहरू मुस्लिम समुदायको भए पनि हिन्दुहरूको तिहार पर्व अति नै मनपर्ने बताउनुभयो । तिहार पर्व दाजुभाइ र दिदी बहिनीहरूको आत्मीयता जोड्ने पर्व भएकाले विगत लामो समयदेखि तिहारको सप्तरङ्गी टीका लगाउँदै आएको साकिर खानले बताउनुभयो ।

राप्तीसोनारी ५ की तारा ओलीको घरमा गई उहाँहरूले टीका ग्रहण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button