तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा देउसी भैलोको रौनक (फोटो फिचर)

बाँके । हरेक बर्ष लक्ष्मी पूजाका दिनदेखि भाइटिकाका दिन सम्म खेलिने देउसी भैलोले यतिबेला कोहलपुर बजारमा रौनकता थपेको छ । सुनसान व्यापारलाई चिर्दै विभिन्न लोक संस्कृति झल्किने गीत सङ्गीतदेखि आधुनिक डिजे बजाउँदै युवा युवतीहरू यत्रतत्र गर्दा साँच्चीकै तिहार आएको भान कोहलपुर मात्र नभएर बाँके जिल्लाको विभिन्न ठाउँमा देख्न सकिन्छ।

तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको पूजा लगायत भाइटिका नै हो । तिहारका ५ दिन नै अलग अलग पूजा गरिने हुँदा सबै दिनको विशेष महत्त्व छ । अझ देउसी भैलोको रमाइलो त धेरै नै छ । लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्ट्याउने गरिएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर भैलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने चलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भए पनि देउसी र भैलो गाउँदा ठाउँ अनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा भने यसको महत्त्व अझ बढेको छ ।

देउसी भैलो उति बेलाको सिञ्जा राज्यबाट प्रचलनमा आएको र यसको छुट्टै सांस्कृतिक महत्त्व रहेको जानकारहरू बताउँछन् । अहिले भने, मनोरञ्जन र आर्थिक पाटोलाई मात्रै हेरेर देउसी भैलो खेल्ने परिपाटिले गर्दा कात्तिके दान दिनेहरूले समेत झेंझो मान्ने गरेका छन् ।

यतिबेला कोहलपुरमा आफ्नो सांस्कृतिक परम्परा जोगाउने भन्दै सल्यान, रुकुम, जाजरकोट र कर्णालीबाट बसाई सरि आएका व्यक्तिहरूले आफ्नो समूह बनाई मौलिक बाजा र परम्परागत देउसी भैलो खेलिरहेका छन् भने कतिपय युवा युवतीहरूको समूहले मौलिकता गुमाएको देउसी भैलो खेल्दै बजारभरि मनोरञ्जन दिने र द्रव्य कमाउँदै गरिरहेको पाइन्छ ।

पछिल्लो समयमा देउसी भैलोमा विकृति देखिए पनि कहीँ कतै भने सामूहिक रुपमा देउसी भैलो खेलेर सामाजिक कामहरू गरेको पनि पाइन्छ। तर समय परिवर्तन सङ्गै भित्रिएको विकृतिले आगामी दिनमा देउसी भैलोको मौलिकता हराउँदै जाने छ। त्यसैले हाम्रो नेपाली मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो भने यसको संरक्षणमा सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ।

यसर्थ देउसी भैलोलाई भावी सन्ततिले पनि मौलिकता जोगाउन सक्ने गरि मनाउनु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button