तपाईँ सुन्दै हुनुहुन्छः

दसैँका लागि ल्याइएका भेडा च्याङ्ग्रा तिहारमा पनि बिकेनन्

बागलुङ । कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आउनुभयो । बागलुङसम्म आउँदा उहाँले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गर्नुभयो । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्‍याउनुभयो । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए ।

दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किनुभयो । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आउनुभएको छ । दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उहाँ साह्रै तनावमा देखिनुहुन्छ । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङ बताउनुहुन्छ ।

गुरुङलाई तिहारसम्म सबै भेडा च्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उहाँ १८ वर्षदेखि यही पेसामा लाग्नुभएको हो । दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यस वर्ष न्यूनतम रु ३० हजारदेखि रु ५८ हजारसम्म मूल्य छ ।

सहर बजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । रु एक करोड ५० लाखमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाई बेच्न बाध्य भएको गुरुङले बताउनुभयो । दसैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उहाँले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताउनुभयो । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउनुहुन्छ ।

पुथा उत्तरगङ्गा पूर्वी रुकुमका तिलबहादुर बुढा मगरले पनि यसपाली सोचे अनुसार भेडाबाख्रा बेच्न सक्नुभएन । ३४ वर्षदेखि भेडापालन गर्दै आउनु भएका बुढा मगरले यो वर्ष सबैभन्दा कम व्यापार गरेको सुनाउनुभयो । आफ्नो मुख्य व्यापार हुने क्षेत्र रुकुमकोट, बागलुङको निसीखोला, बुर्तिबाङ, बडिगाड, गुल्मीको वामीटक्सार चोरकाटे र रिडी भएको भन्दै सबै ठाउँमा पुग्दा पनि तीन सयभन्दा बढी भेडाबाख्रा बिक्री गर्न नसकेको उहाँको भनाइ छ । दसैँसम्म पाँच सय भेडा बिक्री गर्ने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ ।

गत वर्ष भेडाबाख्रा बिक्री गरेर रु १५ लाख आम्दानी गरे पनि यसवर्ष आधा मात्र कमाइ भएको बुढा मगर बताउनुहुन्छ । न्यूनतम रु २० हजारदेखि अधिकतम रु ४२ हजारसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो । बाँकी रहेका भेडा बथानमै लगेर छोड्ने बुढा मगरको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button