तपाईँ सुन्दै हुनुहुन्छः

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौँ । फूल कृषक तथा व्यवसायीले यस वर्षको दीपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रुपमा परिचित तिहारका अवसरमा अत्यधिक प्रयोग हुने सयपत्री फूलले यस वर्ष बजार नपाउँदा किसान तथा व्यवसायी निरास भएका हुन् ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले देश बाहिरबाट वैध तथा अवैध रूपमा ठूलो परिणाममा फूल आयात भइदिँदा, विश्व आर्थिक मन्दीको प्रभाव सर्वत्र पर्दा र काठमाडौँ महानगरपालिकाले चार ठाउँबाट मात्र फूल बेच्न पाउने निर्णय गर्दा यसपटक तिहारमा नेपाली फूलको कारोबारमा कमी आएको बताउनुभयो । आर्थिक मन्दीका कारण काठमाडौँ उपत्यकाका सटर, पसल उल्लेखनीय सङ्ख्यामा खाली भएको, सञ्चालनमा आएका पनि यसअघिका तिहारमा जस्तो झकिझकाउ नदेखिएको र संस्कृतिसँग जोडिएको फूल व्यवसायको कारोबार निश्चित ठाउँबाट मात्र गर्न पाउने स्थानीय सरकारको निर्णयका कारण फूल कृषक तथा व्यवसायी मारमा परेका फ्लोरिकल्चर एसोसिएसनले स्पष्ट गरेको छ ।

यस वर्ष तिहारमा बढीमा पाँच लाख माला आयात भए पुग्ने भनी सम्बन्धित निकायको ध्यानाकर्षण गरेकामा त्योभन्दा ठूलो परिमाणमा भारतबाट आयात भएकाले नेपालमा उत्पादित फूलले बजार नपाएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । यसअघिका वर्षमा जस्तो काठमाडौँका प्रमुख चोक तथा मुख्य सडक आसपासमा फूलमाला किनबेच गर्न नपाउने कामपाको निर्णयका कारण पनि यस वर्षको तिहारमा फूल व्यवसायको कारोबार प्रभावित भएको व्यवसायीको गुनासो छ ।

भृकुटीमण्डपमा फूलमाला बिक्री गरिरहनुभएका धादिङको महादेव बेसीका चन्द्रबहादुर थापा र काभ्रेपलाञ्चोकको पाँचखालकी पार्वती खरेलले वर्षौंदेखि तिहारमा फूल कारोबारमार्फत परिवारको पालनपोषणका साथै तिहार खर्चको व्यवस्था गरिँदै आएकामा यस वर्ष फूलले उचित बजार नपाउँदा तिहार मान्ने अवस्था नरहेको बताउनुभयो । गाउँबाट रू सात सयका दरले ल्याएको फूल यहाँ रू तीन सयमा पनि बिक्री नभइदिँदा निरुत्साहित भएको उल्लेख गर्दै उहाँहरूले फूल व्यवसायीले अघिल्ला वर्षमा जस्तै काठमाडौँका प्रमुख सडक चोकमा यमपञ्चकभर व्यवसाय गर्न पाउनुपर्ने माग गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाले यस वर्ष फ्लोरिकल्चर एसोसिएसनका प्रतिनिधि समेतको उपस्थितिमा भृकुटीमण्डप, बालाजु, कोटेश्वर–तीनकुने र हाँडी गाउँमा मात्रै फूल बिक्री वितरण गर्न पाउने व्यवस्था मिलाएको छ । काठमाडौँ उपत्यकाको काँठ क्षेत्रसहित धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, गोरखा, उदयपुर लगायत जिल्लाबाट काठमाडौँ उपत्यकामा सयपत्री फूल बिक्रीका लागि ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button