तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा तीन स्थानमा आगलागी, करोडौको क्षति

नेपालगन्ज। बाँकेका तीन भिन्न स्थानमा आगलागी भएको छ ।
नेपालगन्जको घरबारीटोल, खजुराको धनौली र राप्तीसोनारीको बैजापुरमा गए राती आगलागी भएको हो । यी तीन स्थानमा भएको आगलागीबाट एक करोड बराबरको क्षती भएको छ ।

घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ । ध्रुब दाहालले संचालन गर्दै आउनुभएको उक्त पसलको सटर बन्द रहेकै अवस्थामा बिजुलीको तार सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिनुभयो ।

आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट करिब ९० लाखको क्षती भएको प्रारम्भिक अनुमान छ । दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बिसीले बताउनुभयो । पसलमा टेलिभिजन, फ्रीज, कूलर लगायत सामान थिए ।

यस्तै, लक्ष्मीपूजाका लागि जलाइएको दियोबाट सल्केर खजुराको एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा गएराती आगलागी भएको हो ।

लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले विष्णु वर्माले संचालन गर्दै आएको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो निभाएका थिए । आगलागीबाट करिब ६ लाखको क्षती भएको बताइएको छ ।

गएराती नै राप्तीसोनारीस्थित बैजापुरको एउटा पसलमा आगलागी भएको छ । राप्तीसोनारी ४ बैजापुरमा स्थानीय दयानन्द थारुले संचालन गरेको पसलमा आलागी हुँदा पसलमा रहेको समान नष्ट भएको बाँके प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करिब ४ लाखको क्षती भएको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button