तपाईँ सुन्दै हुनुहुन्छः

किशोरीलाई प्रोत्साहित गर्न शिक्षामन्त्रीद्वारा पद तथा कुर्सी हस्तान्तरण

जनकपुरधाम । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले एक दिनका लागि आफ्नो पद एक जना बालिकालाई हस्तान्तरण गर्नु भएको छ । 

बालिकाको मनोबल उच्च बनाउन मधेशका निक्कै पछाडि परेका मुस्लिम समुदायकाका किशोरीलाई प्रतिकात्मक रुपमा आफ्नो मन्त्रीको पद तथा कुर्सी हस्तान्तरण गर्नु भएको छ । 

मन्त्री यादवले धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकामा अवस्थित विद्यालयको कक्षा ९ मा अध्ययनरत फरक क्षमता ( अपाङ्ग ) छात्रा वर्ष १८ की किशोरी रजिना खातुनलाई पद हस्तान्तरण गर्दै आफ्नै कुर्सी बस्न लगाई खादा लगाएर स्वागत गर्नु भएको छ । 

अन्तर्राष्ट्रिय वालिका दिवसको अवसर पारेर प्लान ईन्टरनेशनल नेपालले विकासको काम सहित बालिका, किशोरी तथा महिलाको सशक्तीकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदहरूमा बालिकाहरूलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने प्रयास गरिरहेको छ । 

एक दिनका लागि भएपनि मन्त्रीको पद पाएका किशोरी खातुनले सार्वजनिक विद्यालयमा भएका समस्या तथा समाधानको विषयमा मन्त्री यादवलाई जानकारी दिँदै समाधानका लागि प्रयास गर्नका लागि आग्रह गर्नु भएको छ । 

मधेश प्रदेश सरकारले बेटी पढाऊँ बेटी बचाउ, छोरी शिक्षा बिमा जस्ता कार्यक्रम सञ्चालन गरेपनि करिब दुई वर्ष देखि साइकल वितरण कार्यक्रम रोकिएको विषयमा किशोरी खातुनले मन्त्री यादवको ध्यानाकर्षण गर्दै शिक्षक, कक्षा कोठा, शौचालय तथा सेनेटरी प्याडको व्यवस्थापनको विषयमा अवगत गराउनु भयो । 

कार्यक्रममा बोल्दै मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेश शिक्षा र साक्षरताको दृष्टिकोणले निक्कै पछाडि परेकाले नै प्रदेश सरकारले साक्षर प्रदेश अभियान चलाउन लागेको बताउनु भयो । 

उहाँले मधेश प्रदेशको शिक्षाको सुधारका लागि यसै महिनामा संघीय सरकार, स्थानीय सरकारको प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख, विद्यार्थी सङ्गठन तथा शिक्षक सङ्गठनका प्रतिनिधिहरू राखेर बृहत् अन्तरक्रिया गर्न लागेको र त्यसपछि प्रदेश सरकारले शिक्षा सुधारको अभियान चलाउने बताउनु भयो । 

प्लान ईन्टरनेशन नेपाल मधेश प्रदेशका प्रमुख रविशंकर पण्डितले बालिका, किशोरी तथा महिलालाई सशक्त बनाउनका लागि यस्ता प्रकारको अभियान चलाएको बताउँदै सन् २०२२ मा १०७ जना वालिका तथा किशोरीलाई र २०२३ मा हालसम्म ५० जनालाई विभिन्न पदहरू पदासीन गराएर उनीहरूको मनोबल उठाउने प्रयास गरेको बताउनु भयो । 

कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पर्दै प्लान ईन्टरनेशनलका अधिकृत अञ्जु शाक्यले यस्ता प्रकारको कार्यक्रमबाट बालिका, किशोरी र महिला सशक्तीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने विश्वास व्यक्त गर्नु भयो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button