तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको लुम्बिनी भ्रमणको तयारी सुरु

रुपन्देही । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ । नेपालको चार दिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी शुरु गरेको हो ।

कोषले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरूसँग बैठक गरी महासचिव गुटेर्रसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको छ ।

महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेर्रसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गर्नुभयो । महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने उहाँले बताउनुभयो ।

महासचिव गुटेर्रसका साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लुम्बिनी आउने कार्यक्रम रहेको छ । १४ गते बिहान ८:३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र त्यहाँबाट हेलिकप्टरमा सिधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम तय भएको छ ।

यसअघि महासचिव गुटेर्रसले अक्टोबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो।

महासचिव गुटेर्रसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।

महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री हुनुहुन्थ्यो । संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उहाँको यो दोस्रो कार्यकाल हो । उहाँ पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त हुनुभएको थियो ।

यसअघि सन् २००८ संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव वान की मुनले पनि नेपाल भ्रमणका क्रममा लुम्बिनी भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button