तपाईँ सुन्दै हुनुहुन्छः

अखिल बलिपूर्ति आज, नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिन सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज कोजाग्रत पूर्णिमामा अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजै अलि बलिपूर्ति गर्नुपर्ने जनाएको छ । औपचारिक रुपमा नवदुर्गाको प्रसाद लगाउने क्रम आजै सकिन्छ ।

दसैँमा घरमा आउने आफन्तलाई पूर्णिमाका दिन पनि टीका लगाइदिने व्यावहारिक प्रचलन छ । मान्यजनबाट टीका थाप्न जाने प्राय, ज्वाइँ, छोरी, बहिनी, भाञ्जाभाञ्जी लगायत हुने भएकाले पूर्णिमाका दिन पनि टीका र प्रसाद लगाइदिने व्यावहारिक प्रचलन रहेको हो । वैदिक सनातन परम्परामा पूर्णिमालाई पर्वका रुपमा मानिन्छ ।

अन्य पूर्णिमामा पनि आफूले मान्नुपर्नेलाई टीका लगाएर दक्षिणा दिने परम्परा अनुसार आश्विन शुक्ल पूर्णिमामा शनिबार पनि टीका लगाउने क्रम भने जारी रहन्छ । यसरी टीका लगाउँदा कसैले जमरा भने लगाउँदैनन् । अखिल बलिपूर्ति भएपछि नै जमरा नदी, ताल, तलाउ, पोखरी वा पवित्र स्थानमा लगेर सेलाइन्छ ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । देशका अन्य भागमा भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद र जमरा लगाउने गरिन्छ ।

कोजाग्रत व्रत भने कात्तिक ११ गते बस्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस दिन बेलुकी धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा, आराधना गरिन्छ । यस वर्ष कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने पनि समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button