तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरबाट मालपोत र नापीको सेवा प्रवाह

बाँके । कोहलपुरमा मालपोत र नापी कार्यालयलले औपचारिक रुपमा सेवा प्रवाह गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि एवम् नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रुपमा सेवा प्रवाह शुभारम्भ गर्नुभएको हो ।

 सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरू आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानु नपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सूर्य ढकालले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रूपले सेवा दिनुपर्ने सुझाव दिनुभएको छ। उहाँले जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको समेत बताउनु भएको छ।   

यस्तै कार्यक्रममा उपस्थित भएका वक्ताहरूले सेवा लिन कार्यालयमा आउने जनताले सास्ती पाउन नहुने भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

कोहलपुरबाट सेवा प्रवाह गर्नका लागि गत असोज २६ गतेबाट नै नेपालगन्जबाट हुने कामकाज रोकिएको थियो । नापी र मालपोत कार्यालय कोहलपुरको कार्यक्षेत्रमा पर्ने सबै वडाहरूको कामकाज आजदेखि कोहलपुरबाट नै हुने मालपोत कार्यालय कोहलपुरका प्रमुख निरबहादुर दाहालले जानकारी दिनुभयो।

दुवै कार्यालयले कोहलपुरमा आवश्यक पर्ने कागजातहरू नेपालगन्ज कार्यालयबाट ल्याइसकेका छन् । ‘कोहलपुर कार्यक्षेत्र रहेका साबिकका गाविसहरूको कामकाज पाँच दिन रोकेर आवश्यक कागजात सबै नेपालगन्जबाट कोहलपुर ल्याइसकेका छौँ अब नापी र मालपोतसम्बन्धी कामका लागि कोहलपुर कार्यक्षेत्रभित्रका नागरिकहरू नेपालगन्ज जानुपर्दैन ।’

मालपोत कार्यालय कोहलपुरका लागि ३३ जना विभिन्न तहका कर्मचारीहरूको दरबन्दी समेत स्वीकृत भइसकेको छ । यस्तै नापी विभागले नापी कार्यालय कोहलपुरका लागि १६ स्थायी र चार करार गरी २० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

स्वीकृत दरबन्दीअनुसार नापीको कोहलपुर कार्यालयमा एक उपसचिव, दुई नापी अधिकृत, चार नापी सर्वेक्षक, ६ अमिन, एक कम्प्युटर सहायक, एक सहायक लेखापाल र एक सहायक प्रशासन चौथो तहका कर्मचारी रहेका छन् । अन्य चार जना कार्यालय सहयोगी भने करारमा राख्नका लागि दरबन्दी स्वीकृत भएको नापी कार्यालय कोहलपुरले जनाएको छ ।

नापी र मालपोत कार्यालय कोहलपुरबाट आजदेखि सेवा प्रवाह हुने भएपछि तीन पालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी काम कोहलपुरबाटै हुनेछ । कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका २७ वडाका नागरिक जग्गासम्बन्धी कामका लागि नेपालगन्ज जानुपर्ने अन्त्य भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button