तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय शिक्षा विधेयक २०८० लाई समितिमा पठाउन स्वीकृति

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावर छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले पेश गर्नुभएको विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस्तै आजको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्नुभयो ।

यसअघि बैठकमा विशेष तथा शुन्य समयमा बोल्ने सांसदहरूले दशैं, तिहार, छठ लगायतका चाडबाडको समयमा उपभोग्य बस्तुमा भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले चाडपर्वका बेला यात्रालाई सहज र सुरक्षित बनाउन ध्यान दिनुपर्ने, हवाई तथा बसको भाडादर नियन्त्रण गर्नुपर्ने तथा अनुगमन र निगरानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसदहरूले इजरायलको घटनामा परी ज्यान गुमाउने नेपालीको शव नेपाल ल्याउन तथा जोखिममा परेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन पनि माग गर्नुभयो ।

सांसदहरुले इजरायल घटनाबाट सिकेर सरकारले नेपालीहरू उच्च शिक्षा र रोजगारीका लागि गएका ठाउँहरूको सुरक्षाबारे ध्यान दिन र नेपालमा नै गुणस्तरीय प्राविधिक शिक्षा दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकमा स्थानीय तहको कर्मचारीको सेवा र सुविधा संघ तथा प्रदेशका कर्मचारी सरह हुनुपर्ने, उनीहरूको आन्दोलन र मागप्रति सरकार गम्भीर बन्नुपर्ने लगायतका विषयमा समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी, बैठकमा आकस्मिक समय लिएर बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणबारे सरकारको जवाफ माग गर्नुभयो ।

सांसद लामिछानेले भारतका प्रधानमन्त्री मोदीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २६ गते शुक्रबार दिउँसो २ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button