तपाईँ सुन्दै हुनुहुन्छः

अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभएको छ ।

युनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताउनुभयो । ‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधार: स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ’– मन्त्री शर्माले भन्नुभयो– ‘सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि संघीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ भने प्रदेश र स्थानीय तहहरूलाई पनि यसका लागि हामीले प्रोत्साहन गरिरहेका छौँ ’

पूर्वाधारको पहिलो कनेक्टिभिटी भएकाले मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्कहरू स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सहज उहाँले बताउनुभयो ।

नेपालमा सूचना प्रविधिमा आधारित रोजगारी र स्वरोजगारी बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटदेखि पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने, सूचना प्रविधिको उद्योगमा वैदेशिक लगानीको सीमा हटाउने, देशभित्रै बसेर सूचना प्रविधिको सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छूट दिने लगायतका व्यवस्था गरिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

सूचना प्रविधिमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी सरकारले जनशक्ति उत्पादन, उत्पादन वृद्धि र त्यसको बजारीकरण लगायतका क्षेत्रमा सहजीकरण गरिरहेको र यो पर्याप्त नभएकाले अझै बढाएर लैजाने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यो वर्षदेखि देखि सूचना प्रविधि विषयमा उच्च तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी डिजिटल च्याम्पियन, आइटी एक्जिविसन लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

सरकारी सेवामा दक्ष जनशक्ति आकर्षित गर्न निजामती सेवामै अलग्गै ‘सूचना प्रविधि’ समूह बनाएर संघीय निजामती विधेयक अघि बढाइएको उल्लेख गर्दै उहाँले उनीहरूको क्षमता विकासका लागि सूचना प्रविधि स्टाफ कलेज लगायतका संरचनाबारे पनि सोचिरहेका बताउनुभयो । निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडेर लैजानुपर्ने उल्लेख गर्दै उहाँले सरकारले स्वरोजगारीमा रहेका जनशक्तिलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने कार्यक्रम सुरु गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button