तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय सडक कालोपत्रे हुने, नगरप्रमुख शेर्पाद्वारा शिलान्यास

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट माप्यदुधकोशी गाउँपालिका हुँदै खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने महत्वपूर्ण पर्यटकीय धुले सडकको कालोपत्रेको काम शुरु गरिएको छ । संविधान दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सडकको शिलान्यास गर्नुभएको हो । 

यस अवसरमा नगरप्रमुख शेर्पाले भन्नुभयो, यो सडक कालोपत्रे भएपछि सडक मार्गबाट आउने पर्यटकको आगमनमा वृद्धि हुनेछ, मैले यो सडकलाई माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाका जनताको ‘लाइफ लाइन’ सडकका रुपमा लिएको छु । समयमा गुणस्तरीय सडक निर्माण गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभयो । 

सल्लेरीबाट साँढे १० किलोमिटर कालोपत्रे गरिने सडक खण्ड सिलगुडी डाँडा–काँकुवास–वर्लाङघाट–जुबिङ–खरिखोला–लुक्ला हुँदै खुम्बुसम्म पुग्ने जनाइएको छ । ललितपुरको चम्पेश्वर–पि.एम. निर्माण जे.भी.ले निर्माणको जिम्मा पाएको सडकको लागत ४० करोड ९० लाख रुपियाँ रहेको छ । यो सडक प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको हो ।

गएको असार २७ गते निर्माण कार्य शुरु गर्ने गरी सम्झौता भएकोमा केही समय ढिला शुरु भएको छ । कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । स्थानीयको सहयोग भएको खण्डमा निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ ।

उक्त सडक कालोपत्र भएपछि स्थल मार्गबाट आउने पर्यटकलाई आवतजावतमा सहज हुने तथा हवाई यातायातका लागि मौसम प्रतिकुल हुँदा समेत पर्यटक सहजै ओहोरदोहोर गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । हाल हवाई यातायातबाट खाद्यान्नलगायतका सामग्री ढुवानी हुँदा महँगीको मार खेपिरहेका खुम्बुवासीलाई समेत केही राहत हुने बताइन्छ ।

कच्ची सडक हुँदा वर्षायाममा स्थानीयले खेप्दै आएको सास्तीको समेत अन्त्य हुने छ । उक्त सडकको सल्लेरीदेखि सेलीकुडी डाँडासम्मको करिब सात किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिकाको क्षेत्रभित्र पर्दछ । त्यसपछि माप्य दुधकोशी गाउँपालिकाको क्षेत्र पर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button