तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट निवेदनमा सुनुवाई सुरु 

काठमाडौँ । सर्वोच्च अदालतले हेर्दा हेर्दैमा राखेको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदनमा आजको सुनुवाई सुरु भएको छ । 

मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीकै पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको थियो । 

यसअघि भदौ १८ गते न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको  पूर्ण इजलासले सुनवाई सुरु गरेको मुख्यमन्त्री थापाविरुद्धको रिट निवेदनमा बहस नसकिएपछि त्यसयता हेर्दा हेर्दैमा राखेर सुनुवाई भइरहेको छ । 

तीन न्यायाधीश रहेको पूर्ण इजलासमा दुवैतर्फको बहस आज सकिए आजै निर्णय सुनाउने सम्भावना रहेको छ ।  

मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत अवैधानिक रहेको भन्दै पूर्वमुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भदौ १७ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

मुख्यमन्त्री थापालाई प्रदेशसभामा अध्यक्षता गरेको व्यक्तिले समेत मतदान गरेको भन्दै विश्वासको मत असंवैधानिक रहेको रिट निवेदनमा दाबी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button