तपाईँ सुन्दै हुनुहुन्छः

‘बेथिति अन्त्यका लागि सरकारले चालेको कदम रोकिँदैन’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताउनुभएको छ ।

file photo

उहाँले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेन्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसा गर्नुभयो । सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन् भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरूका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट पार्नुभयो ।

पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घले आयोजना गरेको कार्यक्रममा उपमहासचिव पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरिका सबैमाथि अपराधी झैँ गरी सामाजिक चरित्र हत्या गर्ने प्रवृत्ति डरलाग्दो रूपमा बढेर गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेता पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताउनुभयो । कयौँ विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गर्नुभयो । राष्ट्रिय सरोकारका एजेन्डामा सबै राजनीतिक शक्तिबिच समान धारणा बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले निजी क्षेत्रलाई आश्वस्त नपारी मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनुभयो । उहाँले नेतृत्वकर्ता दलको नेताका हैसियतमा सरकारबाट लगानीकर्ता डराउनुपर्ने अवस्था नरहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button