तपाईँ सुन्दै हुनुहुन्छः

‘भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ’

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्ण समर्थन रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताउनुभयो ।

महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताउनुभयो । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताउनुभयो ।

तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने उहाँले बताउनुभयो ।

यसैगरी पर्वत सदरमुकाम कुश्मा बजारमा मङ्गलबार दिउँसो कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गर्नुभयो ।

महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उहाँले पार्टी पुरानो पाराले चल्न नसक्ने भन्दै विधि र थितिअनुरूप चलाउन जिल्ला तहबाटै नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई एक्लै भिड्न सक्ने बनाउन खोजिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button