तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरमा खरको छाना मुक्त अभियान

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले खरको छाना मुक्त अभियान सुरु गरेको छ । आर्थिक अभावको कारण खरको छानो मुनि बस्न बाध्य नगरवासीका लागि नगरपालिकाले जस्ता पाता दिएर खरको छानो मुक्त बनाउन लागेको हो । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रम अन्तर्गत सो अभियान सुरु भएको हो ।  नगरपालिकाले ३ वर्षभित्र खरको छानो मुक्त घर निर्माण गरिने अभियान चलाएको जनाइएको छ ।  

नगर प्रमुख रजत प्रताप शाहले यस चालु आर्थिक वर्ष २०८०/०८१ मा ५ सय ४० घरपरिवारको खरको छानो (फुस) मुक्त घर निर्माण गरिने योजना रहेको जानकारी दिए । उनले २ करोडको बजेटबाट खरको छानो मुक्त घर निर्माण अभियान सुरु गरिएको बताए । उनले जस्तापाता, पाइप लगायत सम्पूर्ण घर फिटिङका सामग्रीसहित नगरले घर निर्माण गरिने बताए । ३ वर्षमा खरको छानो मुक्त नगर बनाउने उनको भनाई छ । निर्वाचनको बेला जनतालाई दिएको वाचासमेत पूरा गर्न लागेको बताउँदै नगरको चौतर्फी विकासको लागि तत्पर रहेको शाहले बताए । 

मेयर शाहले भने, ‘खरको छानो हुँदा आगलागी हुने जोखिम बढी हुन्छ । नगरवासीलाई सुरक्षित बसोबासमा सहयोग गर्न यो खरको छानो मुक्त अभियान कार्यक्रम ल्याइएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरि राख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुन्छ ।’  

इन्जिनियर प्रदीप कुमार चौधरीले खरको छाना मुक्त आवासका लागि ठेक्का भएको बताए । यस वर्ष २ करोड बजेटबाट यो अभियान सुरु गरिने तयारी भएको उनले जानकारी दिए । १० करोड बजेटको लागतमा ३ वर्षभित्र नगरमा खरको छाना मुक्त अभियान सञ्चालन गरिएको इन्जिनियर चौधरीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button