तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्यो, तातो हावा ‘लू’ले जनजीवन प्रभावित

नेपालगञ्ज । नेपालगञ्जमा तातो हावाको लहर ‘लू’  चलेपछि जनजीवन प्रभावित भएको छ । उच्च गर्मी र तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित भएको हो । दिनदिनै बढिरहेको तापक्रमले यहाँको जनजीवन प्रभावित भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार नेपालगञ्जको अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । जुन देशभरमै सबैभन्दा उच्च हो । मौसमविदहरुका अनुसार कम्तीमा अझै दुई तीन दिन तातो हावा ‘लू’ को प्रकोप रहने देखिएको छ  ।

अत्यधिक गर्मीका कारण बजारमा मानिसको उपस्थिति पातलिएको छ भने सरकारी कार्यालयहरूमा पनि सेवाग्राहीको सङ्ख्या घटेको छ । अस्पतालहरूमा बिरामीको चाप बढेको छ । गर्मीका कारण आउँ, झाडापखाला, म्यादी ज्वरो, छालाका बिरामी बढेको भेरी अस्पताल नेपालगञ्जका सूचना अधिकारी डा। सङ्केतकुमार रिसालले बताउनुभयो । 

दिउँसोको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकहरूले आग्रह गरेका छन् । गर्मी बढेपछि बजारमा चिसो पेय पदार्थ, उखुको रस, तरबुजा, खरबुजा, काँक्राको व्यापार बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button