तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटको नेहा अक्वामा कोलिफर्म ब्याक्टेरिया फेला

नवलपरासी । पश्चिम् नवलपरासीको  बर्दघाट ७ जिमिरेभारमा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने हानिकारक पदार्थ रहेको पाइएको छ । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले गरेको पानीको परीक्षणको रिपोर्ट अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया पाइएको हो । 

पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भीर खेलबाड भएको बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक गोपाल प्रसाद पाण्डेले बताउनुभयो । पानीमा रहेको कोलिफर्म ब्याक्टेरियाका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने र यसका कारण हैजा, झाडा पखाला र बान्ता आउने खतरा बढ्ने पाण्डेले बताउनु भयो ।

पानीमा कुल कोलिफर्म ब्याक्टेरिया १ सय मिलिलिटरमा अनुपस्थित हुनुपर्नेमा २१ रहेको रहेको परिक्षण रिपोर्टमा उल्लेख छ। जसले गर्दा विश्लेषण गरिएका प्यारामिटर आधारमा प्राप्त नमुना अनुसार नेपाल सरकारको मापदण्ड अनुसार नभएको पाइएको रिपोर्टमा उल्लेख छ । 

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पानी पिउनयोग्य नभएको देखिएपनि बर्दघाट लगायत आसपासमा रहेका पसलहरूमा छ्यापछ्याप्ती पाइएको छ । पिउन योग्य नभएको पानी बजारमा पाइएपछि नेहा अक्वाको पानी नपिउन उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्यले उपभोक्ताहरूलाई आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ “ पानीमा अखाद्य बस्तु फेला परेको समाचार सञ्चार माध्यममा आए सँगै नगरपालिका र हाम्रो टोली उद्योगको अनुगमन गरी नमुना परीक्षणका लागि पठायौँ । रिपोर्टमा पानी पिउनका लागि अयोग्य देखिएपछि पनि कम्पनीका प्रतिनिधि सँग बैठक बसी बजारमा पुगेका पानी फिर्ता ल्याई नष्ट गर्ने सहमति भएको हो । ”

नगर, मञ्च र कम्पनीका प्रतिनिधि बसी गरेको सहमति पनि अहिले सम्म कार्यान्वयन गरेको छैन । तर कम्पनीका सञ्चालक सन्तोष कलवारले भने केही पानीहरू सङ्कलन गरी बर्दघाट उद्योग वाणिज्य सङ्घमा राखिएको बताउनुभयो । “ हाम्रो पानी भैरहवाको ल्याब परिक्षण गर्दाको ल्याब रिपोर्टमा केही समस्या आएको छ ।  पछि भेटेरै बोलाउला।” सञ्चालक कलवारको भनाई छ। बर्दघाट उद्योग वाणिज्य सङ्घमा छ भने पनि सङ्घमा पानी सङ्कलन नगरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । 

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कोलिफर्म जीवाणु सहितको पानी बजारमा पठाएको कम्पनीले फिर्ता ल्याउने सहमति भएको हो सोही सहमति अनुसार अघि बढ्नु पर्ने बर्दघाट नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । “नगरसङ्ग भएको सहमति अनुसार नगरको रोहवरमा  बजारको पानी उठाउने र नष्ट गर्ने हो । तर कम्पनीले सहमतिको कार्यान्वयन गरेन अब कानुन अनुसार कारबाही गर्छौ” उपप्रमुख उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button