तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि पूर्वी नेपालका चिया बगान र कारखाना बन्द गर्ने चिया श्रमिकको घोषणा

भद्रपुर, झापा । पूर्वी नेपालका चिया श्रमिकले भोलिदेखि चिया बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने भएका छन् ।

ज्याला वृद्धि गर्नुपर्ने प्रस्ताव चिया उद्योगीले अस्वीकार गरेपछि श्रमिकले बगान र प्रशोधन कारखानाको काम बन्द गर्ने घोषणा गरेका हुन् ।

आज नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा जिल्लाका चिया श्रमिक र श्रमिक नेताहरूको भेलाबाट सम्पूर्ण चिया बगान बन्द गर्ने निर्णय गरिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका राष्ट्रिय संयोजक सन्तकुमार राईले जानकारी दिनु भयो ।

ज्याला वृद्धिको माग गर्दै झापालगायत पूर्वी नेपालका चिया श्रमिकहरू विगत दुई महिनादेखि आन्दोलनरत छन् । उनीहरूले भदौ ७ गतेदेखि नै बन्दको कार्यक्रम घोषणा गरेका थिए तर माग सम्बोधन हुने आशामा उनीहरूले त्यसलाई भदौ १७ गतेसम्म स्थगित गरेका थिए । बगान सञ्चालकहरूले आफूहरूको मागप्रति वास्ता नगरेपछि बाध्य भएर बन्द हडतालको कार्यक्रम गर्नुपरेको राईले बताउनु भयो ।

यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चिया श्रमिकले दैनिक पाँचसय रुपैयाँ ज्याला पाउने व्यवस्था गरेको थियो । सरकारी निर्णय कार्यान्वयन गर्न नसकिने उद्योगीको अडानपछि श्रमिकले अन्ततः आन्दोलनको बाटो रोजेका हुन् ।

अबको आन्दोलन चिया उद्योगी न्यूनतम ज्याला दिन सहमत नभएसम्म नरोकिने राईको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button