तपाईँ सुन्दै हुनुहुन्छः

जनगुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको अनुभूति दिन सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गरी सुशासनको अनुभूति दिन सरकार क्रियाशील रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी चौबिसै घण्टा चालु रहने गरी कार्यक्रमको  आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनताको गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न नसके जनता र सरकारबीचको दूरी बढ्दै जाने र राज्य व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जाने भएकाले हेल्लो सरकारको व्यवस्थापन र कामको कार्यान्वयनले त्यस्ता निराशाहरूको समाधान गर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले हेलो सरकारलाई केन्द्रीय स्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत बिस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । 

समारोहमा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले गुनासोहरू सम्बोधनका निम्ति ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरु भएको हेलो सरकारलाई आजदेखि २४ सै घण्टा सञ्चालन गरिएको हो । 

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । 

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button